काठमाडौ । आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ ।
संसद सचिवालयका अनुसार आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नेछन् ।
संसदमा रहेका विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै लगातार बैठक अवरुद्ध गर्दै आएका छन् । उनीहरुले भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन हुनुपर्ने माग पनि राखेका छन् । सत्तारुढ दलका नेताहरुले भने कर्मचारीमाथि अनुसन्धान भइरहेकै विषयलाई लिएर मन्त्रीको राजीनामा माग गर्नु अनुचित हुने भन्दै विपक्षी दलको मागमा सहमत नभएको बताउँदै आएको छ ।