काठमाडौं । नेपाल शैक्षिक परामर्श सेवा संघ (नेक्सा) ले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको भवन मर्मत सम्भार तथा रंगरोगनका लागि सहयोग गर्न सदस्य तथा सरोकारवालाहरूलाई आग्रह गरेको छ।
भदौ २३ र २४ गते सम्पन्न जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेक्साले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। मंगलबार बसेको बैठकले सोही आन्दोलनको सन्दर्भमा प्रहरी कार्यालयको पुनर्निर्माण तथा आवश्यक सामग्री उपलब्ध गराई कार्य अघि बढाउने निर्णय गरेको हो।
संघका अनुसार सम्पूर्ण भवनमा रंगरोगन, प्लास्टर र अन्य मर्मत सम्भार गर्ने जिम्मेवारी नेक्साले लिएको छ। प्रारम्भिक अनुमानअनुसार यस कार्यको लागत करिब २५ देखि २६ लाख रुपैयाँ पर्नेछ। अधिकांश सदस्यहरूको कार्यक्षेत्र नजिक रहेको भन्दै उक्त भवनलाई विशेष प्राथमिकताका साथ पुनर्निर्माण गर्ने निर्णय गरिएको छ।
“प्रहरी हाम्रो साथी – शिक्षासँग सहकार्य” भन्ने मूल नारासहित सञ्चालन हुने यस अभियान अन्तर्गत आवश्यक आर्थिक, भौतिक तथा श्रम सहयोगका लागि संघले सबै सदस्यलाई आग्रह गरेको छ।