काठमाडौं । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय मातहतका सडक डिभिजन कार्यालय, हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गका अलपत्र परेका २३४ वटा रुग्ण ठेक्का तोडिने भएका छन् ।
दमक कार्यालय अन्तर्गत ३८, काठमाडौं ७५, पोखरा ३९, सुर्खेत ४९, हुलाकी १६ र मध्यपहाडी लोकमार्ग १७ वटा ठेक्का रुग्ण अवस्थामा छन् । आयोजना तर्फ काम नगरी ठेक्का रुग्ण बनाउन संलग्न तत्कालीन र हालका जिम्मेवार कर्मचारीमाथि छानबिनका लागि समिति गठन गरिने भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले शनिवार भौतिक मन्त्रालयका सचिव, सहसचिव, सडक विभागका महानिर्देशक र संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयका प्रमुखसँग छलफल गर्दै रुग्ण ठेक्का तोड्ने कदम अपरिहार्य भएको बताएका छन् ।