काठमाडौं । निजामती क्षेत्रमा कस्तोसम्म विकृति छ भने केही कर्मचारी १२ बर्षदेखि एउटै विभाग, एउटै शाखामा रजगज गरिरहेका छन् । यो १२ बर्षको अवधिमा एक दर्जन सहसचिव (कार्यालय प्रमुख) हेरफेर भए तर ती सुब्बालाई चलाउने हिम्मत कसैले गर्न सकेका छैनन् ।
निजामती सेवा ऐन २०४९ पल्टाउने हो भने कुनै पनि कर्मचारीहरुलाई प्रत्येक दुई वर्षमा सरुवा गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ तर विद्युत विकास विभागको स्टोर शाखामा कार्यरत नायब सुब्बा बद्री सापकोटाको हकमा यस्ता ऐन नियम लागू हुँदैनन् । उनी निजामती ऐन, कानुनको धज्जी उडाउँदै एक दशकभन्दा लामो समयदेखि, विभागको सबैभन्दा शक्तिशाली मानिने स्टोर शाखामा बसेर रजगज गरिरहेका छन् ।
०६६ सालमा खरिदारबाट नायब सुब्बामा बढुवा भएका सापकोटा काठमाडौं उपत्यका छिरेदेखि विभागको स्टोर शाखाबाट दाँया बाँया हुन नपरेको देखिन्छ, उनको वैयक्तिक विवरण हेर्दा । ०७२ सालमा डिभिजन सहकारी कार्यालय बागलुङबाट विभागमा इन्ट्री भएका उनी त्यस यताका १२ बर्ष सानो गौचरणको एउटै कार्यालयको, उही शाखा छाडेर दायाँबायाँ हुन परेको छैन । यस्को पछाडिको कारण के होला ?
यो १२ बर्षको अवधिमा विभागमा १० जना महानिर्देशक फेरिसकेका छन् । यसबीचमा केही डिजीले उनलाई हटाउन प्रयास गरेका पनि हुन तर यसरी हटाउन खोज्ने डिजी नै फेरिए तर ती ज्याद्रो सुब्बाको पावरसामु कसैको केही जोर चलेन ।
विभागको स्टोरको मुख्य काम भनेकै कार्यालयका लागि चाहिने सर सामानहरुको खरिद गर्नु हो । यही सामान खरिदमा सप्लायर्ससँग मिलेर मोटो कमिशन मिल्ने भएकाले उनी जरा गाडेर बसेका हुन् । उनले कार्यालयको लागि खरिद गर्ने मसलन्दका सामान सप्लाइ गर्ने सप्लायर्ससँग ३० प्रतिशतसम्म कमिशन लिने गरेको विभागकै कर्मचारीहरु बताउँछन् । विभागका एक कर्मचारीका अनुसार, उनी आफूले सबैलाई मिलाएकाले कसैले छुन नसक्ने धाक लगाउने गर्दछन् । विशेष गरी प्रशासन शाखा प्रमुख रहेकी उपसचिव कोमल पराजुली र आर्थिक प्रशासन प्रमुख जागुराम चौधरीले उनले लगेका हरेक प्रस्ताव पास गर्ने गरेको कर्मचारीहरुलाई बताउँदै हिड्ने गरेका छन् । यसका अलावा गाडी मर्मत सम्भार गर्ने जिम्मेवारी पनि स्टोर शाखाकै हो । उनले आफू आएदेखि नै गाडी मर्मत सम्भारको सम्पूर्ण काम कुपण्डोलमा अवस्थित गोपाल महर्जनको वर्कशपमा मात्रै गर्ने ब्यवस्था मिलाएका छन् । गाडी मर्मत सम्भारमा उनले वर्कशपसँग ३५ प्रतिशतसम्म कमिशन लिने गरेको अर्को कर्मचारीले बताएका छन् । वर्कशपमा बिल बनाउँदा नै खर्च उठेको भन्दा बढी बिल बनाउने र सोबाट मोटो कमिशन लिने गरेको कर्मचारीहरु बताउँछन् ।
यस्का अलवा सार्वजनिक खरिद अनुमगन नियम अनुसार कुनै पनि सर सामाग्री आपूर्ति गर्दा कम बोलकबोल गर्नेलाई जिम्मेवारी दिनुपर्नेमा त्यसो नगरी सेटिङमा एउटै सप्लायर्ससँग ३ वटा फर्म लिने र एउटालाई काम दिने गर्दै आएको ती कर्मचारीले बताए । यतिमात्रै होइन विद्युत नियमन आयोगको स्टोर समेत उनकै जिम्मामा छ । आयोगको कर्मचारीको सूचीमा उनको नामसमेत राखिएको छ । उनले पञ्चेश्वर आयोजनाको खरिदसमेत हेर्ने गरेको स्रोतले बताएको छ ।
यसरी स्टोर शाखामा एक दशकदेखि रजगज गर्ने सापकोटाले काठमाडौंको स्युचाटारमा ३ तल्ले महल जोडेका छन् । विभागको स्टोरमा बसेर आर्जित अतिरिक्त कमाइबाटै उनले छोरालाई विदेश पढ्न पठाएको बताइएको छ । सापकोटाले एक वर्षअघि काठमाडौंकै एक भव्य पार्टी प्यालेसमा लाखौं खर्चेर छोराको विवाह गरेको विषयले समेत त्यतिबेला विभागमा निकै चर्चा परिचर्चा चलेको बताइन्छ ।
यसरी पावर र शक्तिशाली कर्मचारी भने एउटै अड्डामा राज गरेर दशकौंसम्म बस्ने र सोधासिधा कर्मचारी भने एक वर्षमा ४ पटकसम्म सरुवा हुँदै आएको छ । जेनजीको रगत र विद्रोहको बलमा बनेको बर्तमान अन्तरिम सरकारका ऊर्जामन्त्रीको ध्यान यता जान्छ कि जाँदैन होला ? विभागकै कर्मचारीहरु प्रश्न गर्न थालेका छन् ।
यो बिषयमा उनीसँग जिज्ञासा राख्दा गाडी मर्मतको काम आफूले नभई मेकानिकल शाखाले हेर्ने गरेको र अन्य काम नियमसंगत गरेको प्रतिक्रिया दिए ।


