काठमाडौं । स्वतन्त्र निजामती कर्मचारी अभियान केन्द्रीय कमिटीले जेनजी आन्दोलनको समयका सहरी विकास मन्त्री र सचिवले हदैसम्मको बिकृत काम गरेकोले उनीहरुमाथि छानबिन गरी कारबाही गर्न माग गर्दै आगामी २६ गतेबाट मन्त्रालय अगाडि धर्ना दिने भएको छ । अभियानले आज मन्त्रीलाई ध्यानाकर्षणपत्र मार्फत यस्तो माग गरेको हो ।
अभियानले बुझाएको पत्रमा मन्त्रालयका प्रशासन शाखाका प्रमुख, मन्त्रीका सचिवालयमा कार्यरत स्वकीय सचिव र निजी कर्मचारीहरुलाई समेत छानबिनको दायरामा ल्याउन माग गरेको छ । पत्रमा मुख्यगरी तत्कालीन नेतृत्वले लोकसेवाबाट सिफारिस भई नियुक्ति पाएका र सरुवा भएर आएका प्राबिधिक सहसचिव, सिडिई, ईन्जिनियरलाई ३ महिनासम्म कुनै जिम्मेवारी तथा पदस्थापन नगरिएकोमा पछि प्रधानमन्त्री कार्यालयबाटै दबाब आएपछि लेनदेनका आधारमा सरुवा गरेको गम्भीर आरोप समेत लगाउँदै यथासीघ्र छानबिनको माग गरिएको छ ।
धनाकर्षणपत्रमा तोकेरै सहरीका सचिव गोपाल सिग्देल, सहसचिव नारायण प्रसाद मैनाली शहरी बिकास तथा भवन निर्माण बिभागका महानिर्देशक मचाकाजी महर्जन र उपमहानिर्देशकहरु, एवं स्थानीय पुर्बाधार बिभागका महानिर्देशक लगायतलाई तत्कालै जिम्मेवारीबाट हटाउन माग गरिएको छ ।
यसैगरी त्यस समयमा राजनीतिक दलको झन्डा बोकेको आधारमा अर्थात सिधा भाषामा भन्दा दलीय कर्मचारी संगठनमा आबद्ध भएकाहरुलाई मात्रै अनुचित लाभ हुनेगरी काम कारबाही गरेकोले त्यसलाई रोक्नुपर्नेमा जोड दिइएको छ । पत्रका ऊर्जा मन्त्रालयमा तत्कालीन मन्त्रीले गरेका अनैतिक तवरका सरुवा र निर्णय उल्टाएकाले सहरीमा पनि त्यस्तै निर्णयको अपेक्षासमेत गरिएको छ । अभियानले गत भाद्र २३ र २४ को जेनजी विद्रोहले नेपाली राजनीतिकमा एउटा ठूलो हलचल र परिवर्तन ल्याएकोप्रति सम्मान समेत ब्यक्त गरेको छ ।