काठमाडौं । पूर्व सचिव अर्जुन कार्की पक्राउ परेका छन् । नेपाल ट्रष्ट कार्यालयका तत्कालीन सचिव कार्कीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो ।
दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा लिज सम्झौता सम्बन्धमा आवश्यक अनुसन्धानको क्रममा ट्रस्टका पूर्व सचिवसमेत रहेका उनलाई नियन्त्रणमा लिइएको बताइएको छ । यसअघि तत्कालीन सचिव लेखबहादुर कार्कीलाई पनि पक्राउ गरिएको थियो।
नेपाल ट्रस्टको नाममा रहेको उक्त जग्गा थामसेर्कुलाई लिजमा दिँदा अनियमितता भएको आशंका गरिँदै आएको छ । उक्त विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत सात वर्षपछि अनुसन्धान अघि बढाएको छ ।
दरबारमार्गमा अवस्थित कित्ता नम्बर ४६०६ को १ रोपनी १४ आना जग्गा थामसेर्कु ट्रेकिङलाई ३० बर्षका लागि लिजमा दिँदा गरिएको गडबडीमा सहसचिव लेखबहादुर कार्की पक्राउ परेर अनुसन्धान अगाडि बढाएको सिआइबीले यस अघि त्रिपाल काण्डमा मुछिएका तत्कालीन सदस्य सचिव अर्जुन कार्कीलाई समेत पक्राउ गरेको हो ।


