काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आयातमा आधारित उपभोगलाई क्रमशः आन्तरिक उत्पादनले प्रतिस्थापन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्
उनले सोमबार ७४औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागद्वारा आयोजित कार्यक्रममा यस्तो धारणा ब्यक्त गरेका हुन् ।आन्तरिक उत्पादनले प्रतिस्थापन गर्न सक्ने वस्तुहरू अनावश्यक रूपमा आयात भइरहेको अवस्थामा ऐन–कानुनमार्फत त्यसलाई नियन्त्रण गर्नुपर्ने उनको सुझाव थियो ।
यसैगरी अर्थसचिव घनश्याम उपाध्यायले भन्सार प्रशासन वास्तविकतामा आधारित हुनुपर्नेमा जोड दिँदै भन्सार प्रशासन जति वास्तविकतामा आधारित भयो उति नै राजस्वका क्षेत्रहरु परदर्शी बन्दै जाने उल्लेख गरे । उनले भन्सारले पछिल्लो समय गरेको काम प्रशंसायोग्य रहेको बताए ।
कार्यक्रममा भन्सार विभागका महानिर्देशक श्याम भण्डारीले अहिलेको अर्थमन्त्रीसँग काम गर्न सजिलो रहेको उल्लेख गर्दै भन्सार प्रशासनलाई सुधार गर्न आफू लागिरहेको बताए । उक्त कार्यक्रममा विभागले राम्रो काम गर्ने कर्मचारीलाई सम्मान समेत गरेको थियो । यसवर्षको सर्वोत्कृष्ट कर्मचारीको सम्मान विभागका निर्देशक सुशील कुमार शर्माले पाए भने अर्का निर्देशक किशोर बर्तौला उत्कृष्ट कर्मचारी घोषित गरिए ।
यसैगरी उत्कृष्ट कर्मचारीबाट सम्मान शाखा अधिकृतद्वय प्रेमप्रसाद सुवेदी र नारायणदत्त जोशी, कम्प्युटर अधिकृत टंकनारायण रेग्मीले प्राप्त गरे ।
यस्तै नायब सुब्बाहरु मञ्जु गौतम, लीलाराज त्रिपाठीले उत्कृष्ट कर्मचारीबाट सम्मान भए । यसैगरी विभागले मातहतका अन्य कार्यालयमा कार्यरत कर्मचारी र भन्सार एजेन्टहरुलाई समेत सम्मान प्रदान गरेको थियो ।


