काठमाडौं । गैरआवासीय नेपाली संघ अमेरिकाले नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमका लागि आमन्त्रण नगरेको प्रस्ट पारेको छ । एनआरएनए अमेरिकाले एक विज्ञप्ति जारी गर्दै यस्तो प्रस्टीकरण दिएको हो ।
संघका अनुसार एनआरएनए अमेरिका अन्तर्गत आयोजना हुने कार्यक्रम, भेटघाट वा औपचारिक गतिविधिमा मन्त्री गुप्तालाई कुनै पनि किसिमको औपचारिक निमन्त्रणा दिइएको छैन।
संघले आफ्नो नाम, लोगो तथा संस्थागत पहिचान प्रयोग गरी अनधिकृत रूपमा कार्यक्रम वा गतिविधि सञ्चालन गरिएकोप्रति आपत्ति जनाएको छ। साथै यस्ता कार्यहरू संघको विधान र अमेरिकी कानुनविपरीत भएको उल्लेख गर्दै त्यसप्रति संघको कुनै संलग्नता नरहेको स्पष्ट गरिएको छ।


