माघ १५, काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति भण्डारीसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । स्वास्थ्य उपकरण खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिष्ठानका तत्कालीन उपकुलपति प्रा.डा. संगिता सिंह भण्डारी र तत्कालीन कामु रजिस्ट्रार कैलाशप्रसाद देवसहितलाई प्रतिवादी बनाएर बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
प्रतिष्ठानमा खरिद गरिएको सीटी स्केन मसिन निर्धारित शर्त तथा मापदण्ड बमोजिम नरहेको अख्तियारले जनाएको छ। तोकिएको मापदण्डभन्दा कमसल किसिमको मेसिन खरिद गरेर सात करोड ३१ लाख ८२ हजार ९८५ रुपैयाँ ९९ पैसा हानिनोक्सानी गरेको अख्यितारले दायर गरेको आरोपपत्रमा उल्लेख छ । तत्कालीन उपकुलपति भण्डारीसँगै १९ जना र मेसिन आपूर्तिकर्ता हिमालयन मेडिकेट प्रालिबाट सोही बराबरको विगो असुल उपर गर्न अख्तियारले दाबी गरेको छ ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार भण्डारी र देवसहित तत्कालीन निर्देशक सागर पन्थी, रेडियोलोजी विभागका तत्कालीन प्रमुख बोव वीसी, बायोमेडिकल इन्जिनियर शरद भण्डारी र आसुतोष भण्डारी, त्रिवि शिक्षण अस्पताल महाराजगन्जका बायोमेडिकल इन्जिनियर अमितकुमार चौधरी, प्रतिष्ठानका अधिकृतहरु झंकार लामिछाने, लीलाकुमारी देवकोटा, मेघबहादुर अधिकारी र लेक्चरर श्रीसिया पोखरेललाई प्रतिवादी बनाइएको छ ।


