काठमाडौं । प्रादेशिक अस्पताल सिरहाका तत्कालीन दुई जना कार्यालय प्रमुख (मेडिकल सुपरिटेन्डेन्ट) सहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्पतालको टिकट काउन्टरबाट संकलन भएको राजस्व रकम हिनामिना गरेको आरोपमा तत्कालीन कार्यालय प्रमुख डा। नागेन्द्र प्रसाद यादव र डा. सरोज यादवसहित १० जनाविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।
आयोगका अनुसार आर्थिक वर्ष २०८०/८१ मा अस्पतालका ८ वटा विल काउन्टरबाट संकलन भएको सेवा शुल्क बापतको रकम बैंकमा दाखिला नगरी हिनामिना गरिएको पाइएको छ । अनुसन्धानका क्रममा सफ्टवेयर अभिलेखमा देखिएको आम्दानी र बैंकमा जम्मा गरिएको भौचर भिडान गर्दा ३८ लाख ७७ हजार ७ सय २४ रुपैयाँ ८३ पैसा फरक परेको थियो ।
उक्त सरकारी रकम बदनियतपूर्वक मासेको र कार्यालय प्रमुखले जिम्मेवारी पूरा नगरी अनियमिततामा सघाएको ठहर आयोगले गरेको छ । मुद्दा दायर गरिएका अन्य प्रतिवादीहरूमा तत्कालीन प्रशासन प्रमुख अशोक कुमार सिंह, तत्कालीन लेखा प्रमुख अशोक कुमार यादव तथा विल काउन्टरमा कार्यरत कर्मचारीहरू श्याम कुमार मण्डल, रोशन कुमार यादव, सरस्वती कुमारी यादव, अजय कुमार मण्डल र पुजा कुमारी यादव रहेका छन् ।


