काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले श्रमिक ठगी गर्न बनाइएका कार्यविधिलाई खारेज गरिने प्रतिवद्धता जनाएका छन् ।
उनले आज मन्त्रालयमा आयोजित मन्त्रालय मातहतका निकायहरूको चालु आर्थिक वर्षको अर्ध–वार्षिक प्रगति समीक्षामा यस्तो धारणा राखेका हुन् । उनले विभिन्न कार्यविधिका नाममा श्रमिकलाई ‘ट्र्याप’मा पारेर दुःख दिने काम भइरहेको बताए।
उनले मन्त्री भएको केही सातामै वैदेशिक रोजगारसम्बन्धी स्वास्थ्य परीक्षणमा तोकिएको अधिक शुल्क खारेज गरेका थिए। ‘हामी कहाँ नीति, नियम देखाएर श्रमिकमाथि दुःख दिने गरिएको छ,” उनले भने, “मेरो कार्यकालभित्र सबै सिन्डिकेट तोडिदिन्छौँ ।’
त्यसपछि मन्त्रालयले नै श्रम स्वीकृतमार्फत विदेश पठाउने, निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गर्ने र अभिमुखीकरण तालिम पनि सञ्चालन गर्ने व्यवस्था ल्याइने उनको भनाइ छ ।


