काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले आसन्न निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन नेपाली सेनाका सकल दर्जालाई निर्देशन दिएका छन् । महाशिवरात्रि तथा २६३ औँ सेना दिवसका अवसरमा शनिबार जंगी अड्डामा आयोजित विशेष कार्यक्रममा सम्बोधन गर्दै प्रधानसेनापति सिग्देलले शुभकामनासँगै निर्वाचनबारे पनि निर्देशन दिएका हुन् ।
सम्बोधनको क्रममा प्रधान सेनापतिले हाम्रो देश नेपालको गौरवका गाथा, परम्परा र संस्कृतिहरू चिन्न, गौरव गर्न र इतिहासका पाठहरूबाट सिक्न सबै सैनिक तालिमहरूमा नेपाल र नेपालीको इतिहास अध्ययन–अध्यापन गराउन निर्देशन दिए।
साथै, नेपाली सेनाले विभिन्न क्षेत्रहरूमा निर्वाह गर्दै आई रहेको जिम्मेवारीहरू उत्कृष्ट ढङ्गले पुरा गर्ने क्रममा आसन्न निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन समेत विशेष निर्देशन दिए।


