काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हराउँदै गएको नेपालको गौरव पुनस्र्थापित गर्ने आफ्नो संकल्प रहेको बताएका छन् । निर्वाचन प्रचारका क्रममा झापामा रहेका उनले आज त्यहाकै एक धार्मिक अनुष्ठानलाई सम्बोधन गर्दै यस्तो धारणा राखेका हुन् ।
उनले ‘सर्वे भवन्तु सुखिनः’ भन्ने मन्त्रलाई नै आधुनिक युगमा समृद्धिको आधार बनाइएको उल्लेख गरे । सम्बोधनका क्रममा ओलीले ‘हिन्दु राष्ट्र’ र ‘सनातन धर्म’ बीचको भिन्नता प्रस्ट्याउँदै सनातनलाई नेपालको मूल सभ्यता र पहिचानका रूपमा व्याख्या गरे। ‘हिन्दु राष्ट्र’ भन्ने शब्द पछिल्ला केही शताब्दीमा मात्र प्रयोगमा आएको भन्दै उनले सनातन परम्परा सबै धर्म मान्ने नेपालीहरूको साझा सम्पत्ति भएको धारणा राखे ।
ओलीले चिकित्सा विज्ञान (सर्जरी) को शुरुवात नेपालकै भूमिबाट भएको बताउँदै ऋषि विश्वामित्र र सुश्रुतको योगदानको चर्चा गरे । उनले नेपाललाई ‘देवभूमि’, ‘तपोभूमि’ र ‘ज्ञानभूमि’ को संज्ञा दिँदै हराउँदै गएको नेपालको गौरव पुनस्र्थापित गर्ने आफ्नो संकल्प रहेको बताए ।


