फागुन ३०, काठमाडौं । काठमाडौं महानगरपालिकाले खाना पकाउने ग्यास र डिजेल–पेट्रोलको कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी गर्नेलाई कडा कारबाही गर्ने बताएको छ ।
ग्यास हुँदाहुँदै छैन भनेर ग्राहकलाई नदिने, ग्यास पाइँदैन भनेर धेरै मूल्य लिने, इन्धन डिपोहरूमा तेल मौज्दात हुँदाहुँदै छैन भनेर उपभोक्तालाई फर्काउने गरिएको गुनासो आउन थालेपछि महानगरले निगरानी संयन्त्र सक्रिय बनाएको कामपाका प्रशासन विभागका प्रमुख महेश काफ्लेले जानकारी दिए ।
ग्यास अभाव हुने आशंकामा उपभोक्ताले बढी भण्डारण गर्ने गरेकाले पनि बजारमा अभाव देखिएको उनको भनाइ छ ।


