काठमाडौं । सरकारले ६ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारले आइतबार यसअघिका सरकारले राजनीतिक भागबण्डाका आधारमा नियुक्त गरेका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो।
यसरी फिर्ता बोलाइएका राजदूतहरुमा डाक्टर शंकरप्रसाद शर्मा (भारत) चित्रलेखा यादव (अस्ट्रेलिया) पूर्णबहादुर नेपाली (श्रीलंका) शिवमाया तुम्बाहाङ्फे (दक्षिण कोरिया) सुम्निमा तुलाधर (डेनमार्क) र कपिल श्रेष्ठ (दक्षिण अफ्रिका रहेका छन् ।
एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका ११ जना राजदूतलाई सुशीला कार्की प्रधानमन्त्री भएको करिब एक महिनापछि असोज अन्तिममा नै फिर्ता बोलाएको थियो । तत्कालीन सरकारले चीनका लागि राजदूत राजदूत कृष्णप्रसाद ओली, जर्मनीका शैल रुपाखेती, इजरायलका धनप्रसाद पण्डित, मलेसियाका डा। नेत्रप्रसाद तिमल्सिना, कतारका रमेशचन्द्र पौडेल, रुसका जंगबहादुर चौहान, साउदी अरबका नरेशविक्रम ढकाल, स्पेनका शनिल नेपाल, बेलायतका चन्द्रकुमार घिमिरे, अमेरिकाका लोकदर्शन रेग्मी र जापानका डा। दुर्गाबहादुर सुवेदीलाई राजदूतबाट फिर्ता बोलाएको थियो ।


