काठमाडौं । एसईईको नतिजा प्रकाशन भए लगत्तै काठमाडौं महानगरपालिकाले आफ्नो नगर क्षेत्रका सबै शिक्षण संस्थालाई कक्षा ११ वा सो सरहको तहमा भर्ना हुनका लागि आवेदन दिन पाउने म्याद १५ दिनको राख्न निर्देशन दिएको छ।
आज बिहान महानगरपालिकाको शिक्षा विभागले सार्वजनिक सूचना जारी कक्षा ११ पढ्न काठमाडौं आउने दुर्गमका विद्यार्थी आवेदन दिने अवसरबाट वञ्चित नहोऊन् भनेर महानगरभित्रका सबै शिक्षण संस्थालाई आवेदन दिन पाउने समयमा एकरूपता दिन भनेको हो।
‘विगतमा कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने सम्बन्धमा शिक्षण संस्थाहरूले फरक फरक भर्ना तालिका तय गरेर छोटो अवधिको सूचना प्रकाशन गर्ने गरेको अनुभव छ। यसबाट देशका दुर्गम क्षेत्रबाट भर्नाका लागि काठमाडौँ आउने विद्यार्थीहरू आवेदन दिने अवसरबाट वञ्चित भएको गुनासोप्रति काठमाडौँ महानगरपालिकाको ध्यानाकर्षण भएको छ’, सूचनामा भनिएको छ, ‘यस सन्दर्भमा माध्यमिक शिक्षा परीक्षा ९एसईई० को नतिजा सार्वजनिक भएको मितिबाट कम्तीमा १५ दिनसम्म आवेदन दिनसक्ने गरी कक्षा ११ वा सो सरहका तहमा भर्ना कार्यक्रम तय गर्न सबै शिक्षण संस्थालाई जानकारी गराइन्छ।’


