काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पटक-पटक स्पष्टीकरण सोधेर प्राधिकरणबाट हटाएको विवाद सेलाउन नपाउँदै अर्को ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा अर्को विवाद सुरु भएको हो । ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले आफू अतिथि रहेको कार्यक्रममा सहभागी नभएको भन्दै ऊर्जा सचिव सुरेश आचार्यलाई २४ घण्टे स्पष्टीकरण सोधेपछि पुनः लफडा सुरु भएको हो ।
गत सोमबार सिँचाइ दिवसको अवसरमा आयोजित कार्यक्रममा कार्यक्रम सञ्चालकले आसनग्रहणको लागि बोलाउँदा समेत मञ्चमा सहभागी नभई बेवास्ता गरेको भन्दै आचार्यलाई स्पष्टीकरण सोधिएको हो ।
‘तपाईँले के कसको प्रभाव वा पूर्वाग्रही भावनाले विभागीय मन्त्रीको अवहेलना गर्ने उद्देश्यले कार्यक्रम बहिष्कार गर्नुभएको हो ? २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्नुहुन जानकारी गराइन्छ’, पत्रमा भनिएको छ । मन्त्री तामाङले कुलमानलाई कुन पनि हालतमा हटाउन नहुने भन्दै सुरुदेखि नै विरोध गर्दै आएका थिए । घिसिङ र तामाङ दुवै रामेछापवासी हुन् ।



