काठमाडौं । आज (बुधबार) बाट काठमाडौंमा ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३’ प्रदर्शनी मेला सुरु भएको छ । कम्प्युटर एसोसियसन नेपाल महासंघ (क्यान) ले ६ दिनसम्म सञ्चालन हुने उक्त प्रदर्शनी मेलामा दैनिक विभिन्न विषयमा सेमिनार गरिने आयोजक जनाएको छ ।
इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३ को औपचारिक समारोहमा सूचना प्रविधि तथा सञ्चार मन्त्री रेखा शर्माले सूचना तथा प्रविधिको क्षेत्रलाई राज्यले प्राथमिकतामा राख्न नसक्दा यो क्षेत्रबाट उत्पादन भएको दक्ष जनशक्ति जोगाउन नसकेको बताइन्
भृकुटीमण्डपस्थित प्रदर्शनी सुरु भएको यस मेलाको औपचारिक उद्घाटन गर्दै क्यानले आगामी माघ २९ गतेसम्म सञ्चालन हुने जनाएको छ । उद्घाटन सत्रमा बोल्दै क्यानका अध्यक्ष रणजीत कुमार पोदारीले नेपाल सरकारको लगानीमा नेपालमै आइटी कम्पनीको स्थापना गर्नुपर्ने बताए ।
नेपालमा वार्षिक हजारौंको संख्यामा आइटीको विद्यार्थी उत्पादन भएपनि रोजगारीको अवसर नहुँदा विदेशीनुपर्ने बाध्यता रहेको छ । तसर्थ नेपालमा रहेको आइटी कम्पनी साथै सरकारको सहयोगमा नेपालमा आइटी अध्ययन गर्ने विद्यार्थीलाई पार्ट टाइम काम गर्ने अवसर मिलाउनुपर्ने उनी बताउँछन् । सूचना प्रविधि क्षेत्रका लागि सरकारले विदेशी कम्पनी ल्याउँदै गर्दा सोहि क्षेत्रमा संलग्न नेपाली कम्पनीलाई पनि सहभागी गराउन आवश्यक रहेको उनको भनाई छ ।
उद्घाटन समारोहमा नेपालका विभिन्न सूचना प्रविधि क्षेत्रमा आवद्ध कम्पनी इन्फो डेभलपर्स, चेम्बर अफ कमर्स, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, डिसहोम फाइबरनेट लगायतका कम्पनीहरुको उपस्थिति रहेको थियो । माघ २४ देखि २९ गतेसम्म आयोजना हुने २८ औं इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३ प्रदर्शनीमा १५० भन्दा बढी स्टल रहने आयोजक क्यानले जनाएको छ ।


