काठमाडौं । सुर्खेतका लागि शनिबार बिहान त्रिभुवन विमानस्थलबाट ८ बजेर १६ मिनेटमा उडेको बुद्धको जहाज प्राविधिक समस्या देखिएपछि ३२ मिनेटमै काठमाडौं फर्किएको छ । ९ एन–एएमडी कलसाइन भएको उक्त जहाजको इन्डिकेटरमा प्राविधिक समस्याको संकेत देखिएपछि ८ बजेर ४५ मिनेटमा काठमाडौं फर्किएको त्रिभुवन विमानस्थलका एक अधिकारीले बताए ।
बुद्ध एयरका अधिकारीहरुले भने गतिबारे जानकारी दिने यन्त्र स्पिडोमिटरमा समस्या देखिएपछि जहाज फर्काइएको बताएका छन् । जहाजमा ६२ जना सवार थिए । नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त जहाज र चालक दललाई तत्कालका लागि ग्राउन्डेड गर्न पत्राचार गरेको छ । बुद्धले जहाजको समस्या जाँच गरी मर्मत सम्भार गरेर मात्र उडाउने बताएको छ ।


