काठमाडौं । आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समिति र नेपाल आयल निगमबीच सहमति भएसँगै आजदेखि पेट्रोलियम पदार्थको कारोबार सुचारु हुने भएको छ।
समन्वय समितिले गत फागुन २३ मा निगम समक्ष पेट्रोलियम बिक्रेता कमिसन र एलपी ग्यासको ढुवानी भाडा समायोजनसम्बन्धी माग पेस गरेको थियो। उसले आफ्नो माग सम्बोधन नभए कारोबार नै ठप्प पार्ने चेतावनी दिएको थियो । शनिबार निगमको केन्द्रीय कार्यालय टेकुमा शनिबार भएको छलफलमा दुई पक्षबीच सहमति भएको हो।
शनिबारको छलफलमा पेट्रोलियम बिक्रेता कमिसन र एलपी ग्यासको ढुवानी भाडा समायोजनसम्बन्धी माग ७ दिनभित्र सम्बोधन गर्ने तथा अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित मागको सम्बन्धमा आगामी जेठ १५ सम्ममा सक्ने सहमति भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।
आन्दोलनरत नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन, नेपाल एलपी ग्यास उद्योग सङ्घ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले सार्वजनिक गरेका सबै विरोधका कार्यक्रमहरू शनिबारैदेखि स्थगन गरी पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको ढुवानी तथा बिक्री वितरणको कार्यलाई यथावत् सञ्चालन गर्ने सहमति भएको छ।