काठमाडौं । नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान साढे ८१ प्रतिशत रहेको छ । अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) र नेपाल उद्योग वाणिज्य महासंघले संयुक्त रूपमा तयार पारेको अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो ।
नेपालमा निजी क्षेत्रको योगदान ८० प्रतिशतभन्दा माथि रहेको बताइँदै आए पनि हालसम्म कुनै औपचारिक अध्ययन गरिएको थिएन । प्रतिवेदनअनुसार सन् २०१२/१३ मा अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८६.६७ प्रतिशत रहेको अनुमान गरिएको थियो । तर, बुधबार सार्वजनिक अध्ययन प्रतिवेदनले नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान साढे ८१ प्रतिशत रहेको देखाएको हो ।
नेपालको अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब ३३ करोडबराबर पुगेको छ । यसमा निजी क्षेत्रको योगदान ८१.५५ प्रतिशत अर्थात् ४३ खर्ब ८८ अर्ब ४७ करोड रुपैयाँबराबर रहेको देखिन्छ । उत्पादनदेखि उपभोग, कर, निर्यात, रोजगारी सिर्जनालगायत सबै क्षेत्रमा निजी क्षेत्र अघि देखिएको छ । पुँजी निर्माणमा समेत निजी क्षेत्रको योगदान बढी देखिएको प्रतिवेदनले देखाएको छ ।


