काठमाडौं । सरकारले धीरजप्रताप सिंहलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ। आइतबार बालुबाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले एआईजी सिंहलाई आईजीपी बनाउने निर्णय गरेको हो।
हाल उनी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत थिए। २०२४ मा कर्णाली प्रदेशको दैलेखमा जन्मिएका सिंह ११ चैत २०४९ मा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका थिए।
हालका आईजीपी शैलेश थापा क्षेत्रीले प्रहरीको ३० वर्षे सेवा अवधिका कारण १८ वैशाखमा अनिवार्य अवकाश पाउने भएपछि सरकारले सिंहलाई आईजीपीमा बढुवा गरेको हो।
प्रमुख दावेदार मानिएका विश्वराज पोखरेल र सहकुलबहादुर थापालाई पछि पार्दै उनी महानिरीक्षक बन्न सफल भएका छन् । यसबारेमा प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनमा रहेका दलहरुसँग समेत परामर्श गरेका थिए ।