काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले राजनीतिक दलहरूले चुनावमा घोषणापत्रमार्फत सपना देखाउने भन्दा काम गर्नसक्नेलाई चिनेर मात्र मत दिनुपर्ने बताएका छन् ।
उनले गृहजिल्ला तनहुँको शुक्ला गण्डकी–९, तालबेंसीमा निर्मित खानेपानी लाइन तथा ट्यांकी समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पत्यारिलो र गरेर देखाउन सक्ने कामको बारेमा मात्रै बोल्नुपर्ने बताए ।
‘घोषणपत्रमा लेख्ने, तर काम नगर्ने दललाई भोट नदिनुहोला,ु नेता पौडेलले भने, ‘सपना देखाएर ती सपना बेवारिसे बनाउने नेता र प्रतिबद्धता व्यक्त गर्ने तर पूरा नगर्ने दलले चुनाव जित्नु राम्रो होइन, त्यसले लोकतन्त्रलाई कमजोर बनाउँछ ।’
उनले काम नगरी चुनाव जित्ने परिस्थिति निर्माण भए जनताले चाहेजस्तो विकास र समृद्धि कहिल्यै पनि प्राप्त गर्न नसक्ने बताए । ‘कांग्रेसले यो चुनावमा स्पष्ट योजना प्रस्तुत गर्नेछ । ती योजना हाम्रा प्रतिबद्धता हुन्,’ नेता पौडेलले भने, ‘हामी हाम्रा प्रतिबद्धता पूरा गर्नेछौँ । पूरा गर्न नसकिने प्रतिबद्धता हामी गर्दैनौँ ।’