काठमाडौं । बागमती प्रदेशको बजेट पारित भएको छ । विहीबारको प्रदेशसभाले आगामी आर्थिक वर्ष २०८१र८२ का लागि प्रस्तुत बजेट बहुमतले पारित गरेको हो ।
बागमती प्रदेशसभा बैठकले बिहीवार राति अबेर अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र विनियोजन विधेयक २०८१ बहुमतले पारित गरेको हो ।
सरकारका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले १ असारमा आगामी आर्थिक वर्षका लागि ६४ अर्ब ५४ लाख रुपैयाँ बजेट प्रस्तुत गरेका थिए ।
बजेटमाथि ६ असारबाट प्रदेशसभामा छलफल थालिएको थियो । तर, पहिलो दिन नै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र विपक्षी दल राप्रपाले बजेट असन्तुलित र त्रुटिपूर्ण रहेको भन्दै प्रदेशसभा बैठक अवरुद्ध गरेका थिए । सरकार र विपक्षी दलबीच सांसदका योजनामा रकमान्तर गरेर बजेट थप्ने सहमतिपछि ७ असारमा प्रदेशसभाको अवरोध हटेको थियो ।
सांसदहरूले उठाएका सवालमा मुख्यमन्त्री शालिकराम जम्कट्टेल र आर्थिक मामिला मन्त्री थपलियाले बिहीवार जवाफ दिएपछि बजेट पारित गरिएको हो ।


