काठमाडौं । अहिले देशका ६ प्रदेशमा वर्षा भइरहेको जल तथा मौसम विभागले जनाएको छ ।
यतिबेला (आइतबार बिहान) देशभरको मौसम साधारणतया बदलीको अवस्थामा छ। बागमती र गण्डकी प्रदेशका केही स्थान तथा कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी र बागमती प्रदेशका पहाडी भूभाग लगायत गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।


