काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सरकार स्वदेशमै रोजगारी सिर्जना गर्न प्रयासरत रहेको बताएका छन् ।
मन्त्री पौडेलले काठमाडौँमा मंगलवार विकासका लागि वित्त सम्बन्धी संवाद, भविष्यमा हुने शिखर सम्मेलनका लागि नेपालको मार्ग विषयक कार्यक्रममा बोल्दै विकासोन्मुख र अल्पविकसित मुलुकहरूको आन्तरिक राजश्व परिचालन गर्ने क्षमता कमजोर हुँदै गएको बताए । आन्तरिक श्रोतको अभावमा निजी पुँजी तथा विकास सहायता लगायत सम्भाव्य क्षेत्रको श्रोतको अधिकतम उपयोग गर्ने गरी विकासप्रतिको खाका तय गर्नुपर्ने अवस्था सिर्जना भएको अर्थमन्त्रीको भनाइ छ ।
सार्वजनिक ऋणको भार बढ्दै गएकाले विकासका लागि श्रोतको जोहो गर्ने कुरा चुनौतीपूर्ण बनेको उनले बताए । उनले राजश्वको अधिकांश हिस्सा सार्वजनिक ऋण भुक्तानीमा लगाउनुपर्ने बाध्यताले सामाजिक सुरक्षा तथा विकासका गतिविधिमा सरकारको लगानी सङ्कुचित हुने अवस्था रहेको बताए ।


