काठमाडौं । सांसदले निजामती सेवा प्रवेशको उमेर घटाउन नहुने माग गरेका छन्। आज बसेको संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलमा उनीहरुले यस्तो माग गरेका हुन् ।
संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० बारे छलफलका क्रममा सांसदहरूले यस्तो माग राखेका हुन्। समितिको बैठकमा उपस्थित प्रतिनिधि सभा सदस्य दामोदर पौडेल वैरागीले सामूहिक संशोधन प्रस्ताव प्रस्तुत गर्दै सेवा प्रवेशको उमेर महिलाका लागि ४० र पुरुषका लागि ३५ वर्ष नै कायम राख्न माग गरे।
२०८० फागुनमा संसद्मा दर्ता भएको निजामती विधेयकबारे हाल संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल चलिरहेको छ। नयाँ विधेयकमा सेवा प्रवेशको अन्तिम उमेर महिलाका लागि ३७ र पुरुषका लागि ३२ वर्ष प्रस्ताव गरिएको छ।