काठमाडौं । अन्ततः राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको आरोपमा बमजन इन्टरप्राइजेजका प्रोप्राइटर बुद्ध लामालाई बिगो र जरिवाना गरी ५ करोड ६१ लाख ३३ हजार पाँच सय १८ नगद र कैद समेतको माग गरी पाटन उच्च अदालतमा अभियोगपत्र दायर गरेको छ । विभागले केही दिनअघि अनुसन्धान पूरा गरेर मुद्दा दायर गरेको हो । अभियोगपत्रमा बुद्धलाई चोरी पैठारी गर्न लगाएको कसूरमा कुमार श्रेष्ठ र भन्सार एजेन्ट नौल बहादुर तामाङलाई समेत जनही बिगो र जरिबाना गरी २ करोड ५१ लाख पैतिस हजार आठ सय अठसठ्ठी असुल गर्न माग गरेको छ ।
लामाले बमजन इन्टरप्राइजेजमार्फत गत मंसर दोस्रो साता रसुवा भन्सारबाट नक्कली प्रज्ञापनपत्र प्रयोग गरेर ३३७२ जोर ब्राण्डेड जुत्ता चोरी पैठारी गरेको विभागको अभियोगपत्रमा उल्लेख गरिएको छ । ब्यवसायी लामाले सुटकेशको प्रज्ञापनपत्र भरेर उक्त परिमाणको ब्राण्डेड जुत्ता चोरी पैठारी गरेका थिए ।अनुसन्धान विभागले चोरी पैठारीमा संलग्न रहेका रसुवा भन्सारका तत्कालीन कर्मचारीलाई समेत विभागीय कारबारही गर्न प्रधानमन्त्री कार्यालयमार्फत भन्सार विभागमा लेखि पठाएको छ ।
लामाले रसुवा भन्सारमा पेश गरेको नक्कली प्रज्ञापनपत्रमा सेटिङ नै गरेर भन्सार अधिकृत थिए हंंश रावलको तोक आदेशमा नायब सुब्बा लोकबहादुर विष्टले गाडी जाँच गरेका थिए । रावल नेकपा माओवादी निकट रहेको नेपाल राष्ट्रिय कर्मचारी संगठनका निकै जल्दाबल्दा नेता हुन्। सत्ता र शक्तिको आडमा उनी रसुवा भन्सारमा फड्को मार्न सफल भएका थिए । त्यसअघि रावल वीरगञ्ज भन्सार थिए । रावललाई रसुवा पठाउँदा भन्सार विभागका तत्कालीन महानिर्देशक ढुण्डीप्रसाद निरौलाले समेत केही शुभलाभ लिएको चर्चा चलेको थियो ।
दशौं करोड बराबरको राजस्व छलीमा प्रत्यक्ष संलग्न देखिएपछि भन्सार विभागले हंशका अतिरिक्त अधिकृतहरु शिवम् श्रेष्ठ र नगेन्द्र जैसीलाई कारबाही स्वरुप विभागमा तानेको थियो । रसुवा भन्सारका तत्कालीन प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनाली एमाले निकट मानिन्छन् । मैनालीले नियोजित रुपमै माओवादी पृष्ठभूमिका ब्यवसायीलाई अनावश्यक हैरानी दिने गुनासो भन्सार विभाग हुँदै अर्थ मन्त्रालयसम्मै पुगेको हल्ला चलेको थियो । रसुवा नाकाबाट सामान क्यारिङ गर्ने मओवादी निकट ब्यवसायीकै रोजाईमा रावललाई त्यता पठाइएको स्रोतको दावी छ । हाम्रो प्रशासनतन्त्रमा सकेसम्म कर्मचारीलाई चोख्याउने प्रवृत्ति भए पनि यसपालि भने विभागले संलग्न कर्मचारीलाई कारबाही गर्न तोकेरै लेखि पठाएको छ । कर्मचारीकै सेटिङमा दशौं करोड बराबरको राजस्व छलीबारे विभागमा सूचना आएपछि विभागले उक्त गाडी रसुवाबाटै नियन्त्रणमा लिएको थियो । गाडी नियन्त्रणमा लिएकोबारे केही सञ्चारमाध्यमले समाचार प्रकाशित गरेपछि डिजी चण्डीप्रसाद घिमिरेले अनुसन्धानका लागि ४ नम्बर पिल्लरलाई जिम्मा दिएका थिए । यस पिल्लरमा निर्देशकका रुपमा उपसचिव मणिराम पोखरेल कार्यरत छन् । निकै ठूलो परिमाणको भन्सार छली भएकाले अनुसन्धानकै क्रममा विभागकी उपमहानिर्देशक कृष्णकुमारी श्रेष्ठको नेतृत्वमा अनुसन्धान निर्देशक पोखरेल र अर्का निर्देशक राजन विसी स्थलगत अध्ययन र थप जानकारीका लागि रसुवा भन्सार नै गएका थिए ।
समान्यतया भन्सार पास गराउँदा कर्मचारीसँगको मिलोमतोमा सामानको परिमाण कम गराउने प्रवृत्ति भए पनि यसरी एकथरी प्रज्ञापनपत्रमा ठूलो परिमाणको भन्सार मूल्यांकन धेरै भएको ब्राण्डेड जुत्ता नै तस्करी भएपछि विभागलाई पनि प्रेसर परेकोले बाध्य भएर कर्मचारीलाई पनि कारबाहीको सिफारिस गरिएको स्रोतको दावी छ । यसबाट चेकजाँच गर्ने जाँचकी के कामका लागि खटाइन्छ भन्ने प्रश्न उब्जिएको छ ।
प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार राजस्वमारामाथि कठोर रुपमा प्रस्तुत हुने र हदैसम्मको कारबाही गर्ने प्रतिवद्धता साँच्चिकै हो या सार्वजजिक खपतका लागि यो भने यसमा संलग्न कर्मचारीमाथि हुने कारबाहीले नै निक्र्यौल गर्ने देखिन्छ । सत्तारुढ दल निकट रहेका संगठनको आडमा करोडौंको राजस्व छलीमा संलग्न हंशजस्ता कर्मचारीलाई साँच्चै विभागले कारबाही गर्ने हिम्मत गर्ला त्यो भने भर्खरै मात्रै अर्थमन्त्रीले विश्वास गरी भन्सारका महानिर्देशक बनाएका महेश भट्टराईको आगामी कदमले नै पुष्टि गर्नेछ ।