काठमाडौं । सरकारले गर्न लागेको सगरमाथा संवादमा विदेशी पाहुनासहित कम्तीमा ३५० जना सहभागी हुने भएका छन्।
यस विषयमा जानकारी दिन आइतबार प्रधानमन्त्री कार्यालयले पत्रकार सम्मेलन गरेरै यस्तो जानकारी दिएको हो । पत्रकार सम्मेलनमा मुख्यसचिव एकनारायण अर्यालले सगरमाथा संवादलाई जनताको साझा कार्यक्रमको रूपमा अगाडि बढाउने बताए। उनले प्रदेश र स्थानीय तहलाई पनि सगरमाथा संवाद जोड्ने बताए। ‘यो कार्यक्रमलाई ३ करोड नेपालीको साझा कार्यक्रमको रूपमा अघि बढाउने सोचेका छौं। प्रदेश र स्थानीय तहलाई पनि सँगै लैजान्छौं,’ उनले भने।
परराष्ट्रसचिव अमृतबहादुर राईले विभिन्न देशका विदेशमन्त्रीसहित विशेषज्ञहरूलाई निमन्त्रणा दिइएको बताए। उनका अनुसार १५० देखि १७५ जनासम्म विदेशी पाहुना सगरमाथा संवाद कार्यक्रममा सहभागी हुनेछन्। ‘कार्यक्रममा हामीले विभिन्न देशका परराष्ट्रमन्त्री , वनमन्त्री, जलवायु परिवर्तन विज्ञ र विशेषज्ञहरूलाई निम्ता गरेका छौं। १५० देखि १७५ जना विदेशी पाहुना हुनेछन्,’ उनले भने।


