काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय, ललितपुरका तत्कालीन मालपोत अधिकृत मीन भट्टराईविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतले सफाई दिएको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । उनी हाल हाल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, जनकपुरमा कार्यरत रहेका छन् ।
आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, भट्टराईले गैरकानूनी रूपमा रु। ४ करोड ४० लाख १५ हजार ९२५ रुपैयाँ ८६ पैसाको सम्पत्ति आर्जन गरेको ठहर गर्दै आयोगले विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको थियो। सो सम्पत्तिको केही हिस्सा उनले आफ्नी पत्नी झुना कुमारी कठेतको नाममा राखेको पाइएपछि उनलाई समेत प्रतिवादी बनाइएको थियो।
छानविन गर्दा भट्टराईको जम्मा बैध आय ५ करोड ९४ लाख ६७ हजार रुपैयाँ खुल्न आएको र सोही अवधिमा खर्च तथा लगानी भने १० करोड २३ लाख ९२ हजार रुपैयाँ देखिएको अख्तियारले जनाएको छ । यसरी स्रोत नखुलेको ४ करोड २९ लाख २५ हजार रुपैयाँ भट्टराईले भ्रष्टाचार गरी आर्जन गरेको दावी अख्तियारले गरेको छ ।