काठमाडौं । स्वतन्त्र कर्मचारी अभियानका संयोजक पशुपति पोखरेलले सहरी विकास मन्त्रालयमा आज दिउँसो धर्ना दिएका छन् । उनले सचिव गोपाल सिग्देलको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै मन्त्रालय परिसरमै करिब पाँच घण्टा धर्ना दिएका हुन्।
अभियानका संयोजक पोखरेलले जेनजी आन्दोलनपछि सरकार परिवर्तन भए पनि सत्ताका प्रशासकहरूको सोच, व्यवहार र कार्यशैलीमा कुनै परिवर्तन नआएकाले आफूले बाध्य भएर धर्ना दिनुपरेको बताए । उनले भने “परिस्थिति अनुसार काम गर्नुपर्ने बेला अझै पुरानै मानसिकता बोकेर प्रशासन चलाइएको छ ।”
साथै, जेन–जी आन्दोलनका क्रममा क्षति भएका संरचनाको परामर्श (कन्सल्टेन्ट) कार्यमा सीमित व्यक्तिहरू हावी भएको, विभाग तथा कार्यालयहरूमा आफ्ना नजिकका व्यक्तिलाई मात्रै काम दिने प्रवृत्ति बढेको उनको आरोप छ ।
खोटाङका पोखरेल सुब्बा तहका कर्मचारी हुन् । उनले यसअघि पनि धेरैपटक विभिन्न आन्दोलन गरेका थिए । निजामती सेवा ऐनमा दलीय कर्मचारी संगठन राख्न नहुने उनको एकोहोरो अडान छ । यसका साथै ऐनमा कुलिङ अफ पिरियड आवश्यक नभएको पोखरेलको तर्क छ ।


