काठमाडौं। नेपालमा हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि नेपालमा नयाँ राजनीतिक समीकरणसँगै स्थिर सरकार गठनसँगै हिमालय जेटले युरोप नेपाल प्रत्यक्ष उडानको प्रकृमा अन्तिम चरणमा पुगेको बताएको छ ।
हिमालय जेट (वर्ल्डवाइड) का अध्यक्ष दीपेन्द्र गुरुङले नयाँ सरकारलाई बधाइ दिँदै पर्यटन, अर्थतन्त्र र अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारमा ठोस पहल गर्न आग्रह गरेका छन्।
अध्यक्ष गुरुडले नेपाल हिमालय, सांस्कृतिक सम्पदा, जैविक विविधता तथा प्राकृतिक सौन्दर्यका कारण विश्वका प्रमुख पर्यटन गन्तव्यमध्ये एक भए पनि अन्तर्राष्ट्रिय हवाई सम्पर्क सीमित हुँदा यसको वास्तविक सम्भावना पूर्ण रूपमा उपयोग हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै नयाँ बन्ने स्थिर सरकारवार आफू पूर्ण रुपमा आशावादी रहेको जनाए ।
सन् २०१३ देखि नेपाली हवाई सेवा कम्पनी युरोपेली सङ्घको हवाई सुरक्षा सूचीमा परेका कारण युरोपतर्फ प्रत्यक्ष उडान सञ्चालन हुन नसक्दा युरोप र बेलायतबाट नेपाल आउने यात्रुले लामो ट्रान्जिट यात्रा गर्नुपर्ने अवस्था रहेको छ।
विगतका राजनीतिक अस्थिरता, दशक लामो सशस्त्र द्वन्द्व, २०१५ को विनाशकारी भूकम्प तथा त्यसपछिका आर्थिक चुनौतीले नेपालको पर्यटन उद्योगलाई पनि प्रभावित बनाएको उनको भनाइ छ। तर, हालको राजनीतिक परिवर्तनसँगै पर्यटन तथा हवाई उड्डयन क्षेत्रमा नयाँ सम्भावना देखिएको अध्यक्ष गुरुङले बताए।
हिमालय जेटले नेपाललाई बेलायत, युरोप र अष्ट्रेलियासँग प्रत्यक्ष लामो दूरीका हवाई उडानमार्फत जोड्ने योजना यसअघि नै ल्याएको छ । कम्पनीका अनुसार लण्डन, पेरिस, फ्र्याङ्कफर्ट, म्याड्रिड, लिस्बन, सिड्नी, मेलबर्न र पर्थजस्ता प्रमुख अन्तर्राष्ट्रिय शहरहरूसँग प्रत्यक्ष हवाई सम्पर्क विस्तार गर्ने तयारीमा रहेको छ।
सो उडान सञ्चालन हुन सकेमा वार्षिक करिब १० लाख यात्रु नेपाल भित्रिने अनुमान गरिएको छ, जसमा पाँच लाखभन्दा बढी अन्तर्राष्ट्रिय पर्यटक हुने अपेक्षा गरिएको छ। प्रत्यक्ष उडान सुरु भए लन्डन–काठमाडौं यात्रा करिब ९ घण्टा ४५ मिनेट र युरोप–काठमाडौं यात्रा करिब ८ घन्टा ४५ मिनेटमा सम्भव हुने बताइएको छ।


