काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा रहेको भन्दै देशको रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन् । उनले अहिले देशले स्वतन्त्रता उपयोग गर्न नपाएको र स्वाधीनता खण्डित भएको दाबी गरे ।
बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा केन्द्रीय सदस्यमा मनोनीत तीन जनालाई शपथ ग्रहण गराउँदै ओलीले देशलाई कम्तीमा स्वतन्त्रता र स्वाधीनताको प्रयोग गर्न सक्ने अवस्थामा पुर्याउन आन्दोलनको तयारी गर्नुपर्ने बताए ।
देशमा नागरिक बोल्नै नसक्ने गरी राज्य आतङ्क सिर्जना गरिएको, गुण्डाराज मौलाएको र सरकार बेलगाम फासीवादतर्फ अगाडि बढिरहेको उहाँको आरोप थियो।
एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई गन्तव्य बनाई आधुनिक नेपाल निर्माणको लक्ष्य लिएको प्रष्ट पार्दै अध्यक्ष ओलीले देशलाई अहिलेको ‘क्रिटिकल’ अवस्थाबाट पार लगाउने ऐतिहासिक अभिभारा पार्टीको काँधमा आएको बताए ।
