काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनमा दलहरूबीच हुने तालमेल ले नेपालको लोकतन्त्रलाई कमजोर बनाउने बताएका छन् । विहीबार नयाँ वर्षको अवसरमा महामन्त्री थापाले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सम्बोधन गर्दै स्थानीय चुनावको सम्मुखमा स्थानीय मुद्दा र गतिविधिमाथि बहस हुनुपर्नेमा त्यो भन्दा धेरै गठबन्धनको बहस भएकोमा दुःख व्यक्त गरे ।
‘अहिले हामी स्थानीय चुनावमा होमिएका छौँ । जनता बलियो हुने, राजनीतिक दल कमजोर हुने बेला हो । त्यसैले यो लोकतन्त्रको सबैभन्दा महत्त्वपूर्ण चरण हो,’ उनले भने, ‘राजनीतिक व्यवस्थामा दलहरुबीचमा गठबन्धन नै नहुने भन्ने होइन । तर हामीले जुन खालको तालमेलको राजनीतिक संस्कृतितर्फ जादैछौँ, यसले नेपालको लोकतन्त्रको स्वास्थ्यलाई राम्रो गर्दैन । यसले हाम्रो पार्टीलाई मात्रै होइन, कसैलाई पनि राम्रो गर्दैन ।’
उनले चुनावमा कसले धेरै दलसँग गठबन्धन गर्नेभन्दा बढी विचारको प्रतिस्पर्धा हुनु आवश्यक रहेको बताए ।


