काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक भर्खरै सकिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूसँग समसामयिक विषयमा छलफल गरेका हुन्।
छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत उपस्थित थिए।
सरकार गठन प्रकृया ढिलो भएको र अध्यादेश प्रकृयाको बारेमा आजको बैठकमा छलफल भएको माओवदी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
यी दुबै विषयमा प्रधानमन्त्रीको भूमिका हुने भएकाले यो विषयलाई छिटो टुङ्ग्याउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भएको उनले बताए ।
अहिलेसम्म मन्त्रिपरिषद् विस्तार हुन नसकेको भन्दै सरकारको ओलोचना सुरु भएको छ । त्यस्तै अहिले सकृय रहेको अध्यादेशको विषयमा पनि सत्तागठबन्धनबीच खटपट भएको बुझिएको छ ।