काठमाडौं । मलेसियामा जारी आईसीसी वुमन्स टी–२० विश्वकप एसिया छनोटमा समूह ए मा नेपालले कतारलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
कतारले दिएको ७५ रनको लक्ष्य नेपालले १०।३ ओभर खेल्दै एक विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा काजल श्रेष्ठले सर्वाधिक ३२ रन बनाए ।
समूह ए मा लगातार चौथो जित हात पारेको नेपालको ४ खेलबाट ८ अंक छ । नेपालले अब समूहको अन्तिम खेलमा बुधबार यूएईसँग खेल्नेछ । उक्त खेल समूह विजेता बन्नका लागि निर्णायक बन्नेछ । यूएईले अहिले बहराइनसँग खेलिरहेको छ ।
यसअघि ब्याटिङमा देखिएको समस्या यस खेलमा नेपालले केही हदसम्म सुधार गर्यो । काजल श्रेष्ठ र सीता राना मगरले पहिलो विकेटका लागि ७ ओभरमा ४७ रनको साझेदारी गरे । २८ बल खेल्दै ४ चौकासमेत प्रहार गरेकी काजललाई सातौं ओभरको अन्तिम बलमा कतारकी सबिजा पनायानले बोल्ड गरे ।
त्यसपछि सीता र इन्दु मिलेर नेपाललाई जितसम्म पुर्याए । यी दुईले अविजित २८ रनको साझेदारी गरे । इन्दुले १२ बल खेल्दै ३ चौका मदतमा अविजित २० रन बनाइन् । यस्तै सीताले २३ बलमा अविजित १७ रन बनाइन् ।


