काठमाडौं । सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा (ख) का सांसद सरल सहयात्री पौडेलले बागमती प्रदेश सरकारसमक्ष दाल, भात तरकारीमा आत्मनिर्भर हुन सक्छौ भन्ने सुनिश्चितता गर्न कार्ययोजना प्रस्तुत गर्न माग गरेका छन् । नेकपा माओवादी केन्द्रबाट निर्वाचित सांसद पौडेलले मंगलबार बाग्मती प्रदेशसभाको १६ औं बैठकलाई सम्बोधन गर्ने क्रममा यस्तो माग गरेका हुन् ।
उनले सिन्धुपाल्चोक जिल्ला विपद्को विपदग्रस्त क्षेत्र भएको उल्लेख गर्दै हरेक विपदग्रस्त सम्भावित जिल्लाहरुमा एउटा आपतकालीन कोष खडा गर्न माग गर्दै त्यहाँको जनताहरुको सुरक्षाको प्रत्याभूत गर्ने वातावरण बनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।
सांसद पौडेलले अहिले किसानले लगाएको बालीमा हाल्न युरिया मल नपाएको बताउँदै तत्कालका लागि प्रदेश सरकारले मलको सहज उपलब्धता गराउनुपर्ने आगामी दिनमा दीर्घकालीन हिसाबले युरिया मलजस्तो रसायनिक मलहरुको प्रयोग गर्ने नमिल्ने र खास– खास क्षेत्रहरुलाई अर्गानिक र प्राकृतिक कृषि प्रणालीमा लैजानका लागि विशेष व्यवस्था गर्न माग गरे ।
उनले नेपालमा रोजगार नपाएर युवाहरु कामकै लागि विदेश जान बाध्य भएकोले आफ्नै गाउँमा भएका रैथाने रोजगारलाई थप व्यवथित गरेर परिचालन गर्ने र रैथाने रोजगारलाई पनि सामाजिक सुरक्षामा समावेश गर्नको लागि एउटा प्रदेशस्तरको श्रम बैक स्थापना गर्नु अनिवार्य रहेको बताए ।
सम्बोधनकै क्रममा पौडेलले सार्वजनिक लेखा समितिको प्रतिवेदनका अनुसार सरकारी शिक्षाको स्तर खस्किएको बताउँदै पछिल्लो पाँच वर्षमा कक्षा एकदेखि कक्षा आठसम्म अध्ययन गर्ने विद्यार्थी संख्यामा २० प्रतिशतले कमी आएकोले बाग्मती सरकारले शिक्षामार्फत समग्र समाजको परिवतन गर्ने विशेष योजना अगाडि बढाउन माग गरे ।


