काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई चुनावमा हराएका जनताले पछुतो मानेको जिकिर गरेका छन् ।
केही दिनदेखि गृहजिल्ला झापामा रहेका उनले विहीबार पार्टीको दमक नगर कमिटी कार्यालयमा अगुवा कार्यकर्ताहरूसँग अन्तरक्रिया गर्दै २०६४ को निर्वाचनको सन्दर्भ उठाएका हुन्
त्यसबेला आफूलाई हराएर यहाँका जनताले एक वर्ष नपुग्दै गल्ती गरिएछ भनेर पछुतो मानेको अध्यक्ष ओलीको तर्क थियो । यस्तो प्रवृत्ति स्थानीय निर्वाचनमा पनि देखिएको उल्लेख गर्दै उनले भने, ‘गल्ती कहिले कहिले हुन्छ तर पटकपटक दोहोरिनु हुँदैन । अबदेखि त्यस्तो गल्ती नदोहोरियोस् भन्न चाहन्छु ।’
अध्यक्ष ओलीले पार्टीलाई राष्ट्रिय राजनीतिको मियोका रूपमा स्थापित गर्ने बताए ।