काठमाडौं । जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवामा फेरि कर्फ्यु आदेश जारी गरेको छ । प्रशासनले बरहथवा नगरपालिकामा आज दिउँसो १२ः४५ देखि भोलि बिहान ८ बजेसम्म कर्फ्यु लगाएको हो ।
यही पुस २० गते शुक्रबार बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिका विषयमा भएको विरोध प्रदर्शनका कारण सार्वजनिक तथा निजी सम्पत्ति र संरचनामा भएको तोडफोड, आगजनी तथा हुलदङ्गालगायतका सार्वजनिक शान्ति सुरक्षा भङ्ग हुनसक्ने देखिएकाले कर्फ्यु जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए।
कार्यालयका अनुसार पूर्वमा सीतापुर जाने बाटोको ब्रम्हास्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोती/चोर्निया पुल सीमा निर्धारण गरी कर्फ्यु जारी गरिएको हो।


