काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शिक्षा र स्वास्थ्यको क्षेत्रमा सरकारले सुधारको थालनी गरेको बताएका छन्।
मन्त्री बस्नेतले विहीबार भक्तपुरको मध्यपुरथिमि नगरपालिका बोडेमा २००५ सालमा स्थापना भएको बोडे माध्यमिक विद्यालयको ७५औँ वार्षिकोत्सव एवं हिरक जयन्तीमा बोल्दै यस्तो बताएका हुन् ।
उनले भने, ‘स्वास्थ्य र शिक्षाको क्षेत्रमा धेरै सुधार गर्नुपर्ने विषय छन्, त्यस्ता विषयलाई सरकारले सुधार गर्न थालनी गरिसकेको छ, स्वास्थ्य क्षेत्रको सुधारको थालनी भइसकेको छ, अब कसैले पनि उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था आउने छैन ।’
उनले सबै नेपाली जनतामा स्वास्थ्यको पहुँच पुग्ने र उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था अब नआउने बताउँदै गरिब, असाहय, अपाङ्गलगायतका नागरिकको निःशुल्क उपचारको व्यवस्था हुने बताए ।
मन्त्री बस्नेतले भक्तपुरका सरकारी अस्पतालदेखि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरिया मैत्री अस्पतालसम्मलाई उच्च प्रविधियुक्त बनाउने र सहजरूपमा गुणस्तरीय सेवा प्रवाह गर्ने गरी सेवा विस्तारलगायतका कार्यमा सरकार प्रतिबद्ध रहेको बताए।


