काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले सफ्टवेयर र उपकरण किन्दा पौने ४१ करोड भ्रष्टाचार आरोपमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनीहरू प्रत्येकसँग ४० करोड ८५ लाख ७४ हजार ७४० रुपैयाँ बिगो दाबी गरिएको छ । अख्तियारले मुद्दा दायर गरेका अरू व्यक्तिमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयका तत्कालीन सीडीई नवीनकुमार पोखरेल, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन लेखा अधिकृत खड्कबहादुर थापा, शाखा अधिकृत हरिवल्लभ घिमिरे र म्याक्स इन्टरनेसनल तथा उक्त कम्पनीका सीईओ अकबर हुसेन छन् ।
अख्तियारले भ्रष्टाचार गरेको रकम सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेलले सिंगापुरमा रहेको आफ्नो एकल बैंक खाता र श्रीमतीको अमेरिकामा रहेको संयुक्त बैंक खातामा जम्मा गरेको देखिएको जनाएको छ ।


