काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा वकालत गर्ने बताएका छन् ।
अखिल नेपाल ट्रेड यूनियन महासंघले शनिबार काठमाडौँमा गरेको राजनैतिक वैचारिक प्रशिक्षणलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधान संशोधन नै गर्ने हो भने अब यी एजेण्डामा गर्नुपर्ने बताए।
अहिले संविधानमार्फत जनताले पाएको अधिकार दलाल पूँजीपति, नोरशाह र माफियाहरुलाई नपचेको टिप्पणी गर्दै अध्यक्ष प्रचण्डले अहिले कथित संविधान संशोधनका नाममा जनताका अधिकार खोस्न खोजिएको उनको भनाइ थियो।
‘अहिलेको संविधान विस्तृत शान्ति सम्झौताको अङ्गको रुपमा रहेकाले शान्ति सम्झौताको एक हस्ताक्षरकर्ता माओवादीको सहमतिविना गर्न खोजिने संविधान संशोधनको प्रयास बेइमानी र जालझेल बाहेक अरु हुन सक्दैन,’ उनले भने, ‘हाम्रो सहमतिबिना संविधान संशोधन गर्ने उनीहरुलाई राजनीतिक र नैतिक दुवै अधिकार छैन।’


