काठमाडौं । अब सहसचिवमा खुल्ला प्रतिस्पर्धा बन्द हुने भएको छ । निजामती सेवासम्बन्धी विधेयक प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको उपसमितिबाट यस्तो निर्णय भएको हो ।
कांग्रेस सांसद दिलेन्द्र बडूको संयोजकत्वमा गठित उपसमितिमा ईश्वरीदेवी न्यौपाने, रघुजी पन्त, लीलानाथ श्रेष्ठ, हितराज पाण्डे, चन्दा कार्की भण्डारी, बुद्धिमान तामाङ, राजेन्द्र पाण्डे, अशोक राई, प्रकाश अधिकारी र सर्वेन्द्रनाथ शुक्ल सदस्य रहेका थिए ।
उक्त उपसमितिमा कुलिङ पिरियडका बिषयमा उपसमितिले संवैधानिक आयोगलगायतका सरकारी नियुक्तिमा एक वर्षको समयसीमा तोक्न प्रस्ताव गरेको छ । विदेशी सङ्घसंस्थाको जागिरको हकमा दुई वर्षको समयसीमा प्रस्तावित छ ।यस्तै एउटैमात्र ट्रेड युनियन रहने वा दलगत ट्रेड युनियन रहने,ट्रेड युनियन अधिकार अधिकृतसम्मलाई दिने वा सुव्वा तहमा सीमित गर्ने भन्ने बिषयमा फरक मत रहेको छ । ६० वर्षमा अवकाशका विषयमा केही सांसदले फरक मत राखेकाले समितिले थप छलफल गरेर टुंग्याउनुपर्नेछ । अवकाशको उमेर ६० वर्ष पुर्याउने मापदण्डमा थप छलफल गर्नुपर्ने भनिएको छ । यसमा सुरुवाती ६, त्यसपछि एक र अन्तिम ६ महिनाको मोडलमा जानुपर्ने भनिएको छ ।


