काठमाडौं । विशेष अदालतले पतञ्जली जग्गा घोटाला प्रकरणमा प्रतिवादी बनेका सहसचिव कलानिधि पौडेललाई २५ हजार धरौटी लिएर छाडेको छ ।
भूमिसुधार तथा व्यवस्था मन्त्रालयमा उपसचिव हुँदा पतञ्जली आयुर्वेदसँग सम्बन्धित जग्गा हिनामिनामा संलग्न देखिएका पूर्व प्रधानमन्त्री माधव कुमार नेपालसहित तत्कालीन उपसचिव पौडेल लगायतका ९३ जना प्रतिवादीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो माग दाबी गर्दै गत जेठ २२ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । यसरी मुद्धा दायर हुँदा तत्कालीन उपसचिव पौडेललाई समेत प्रतिवादी बनाएर विशेषमा मुद्धा दायर गरिएको थियो ।