काठमाडौं । प्रहरीले प्रदर्शनपछि देशभरका विभिन्न प्रहरी इकाई तथा कारागार कार्यालयबाट भागेका कैदी–बन्दीलाई आत्मसमर्पण गर्न आग्रह गरेको छ ।
प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले आज विज्ञप्ति जारी गर्दै अनुसन्धानका क्रममा हिरासतमा रहेका अभियुक्त तथा अदालतबाट सजाय भुक्तान गरिरहेका कैदी–बन्दी भागेर निस्किएको भन्दै यस्तो आग्रह गरेको हो ।
विज्ञप्तिमा ती अभियुक्त र कैदी–बन्दीलाई सम्बन्धित जिल्ला प्रहरी कार्यालय, स्थानीय प्रहरी इकाई वा अन्य सुरक्षा निकायको कार्यालयमा शीघ्र सम्पर्क गर्न अनुरोध गरिएको छ । प्रहरीले सार्वजनिक सुरक्षालाई ध्यानमा राख्दै भागेका व्यक्ति छिटोभन्दा छिटो कानूनी प्रक्रियामा फर्किन आवश्यक रहेको भन्दै सहयोग गर्न आम नागरिकसमेतलाई आग्रह गरेको छ ।