काठमाडौं । इलाका प्रशासन कार्यालय गौरीगञ्ज, झापाका तत्कालीन प्रमुख चूडामणि आपगाँईसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक लेनदेनमा राहदानीमा उमेर थपघट गरेको आरोपमा उनीसहित १० जनाउपर विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
मुद्दा चलाइएकामा तत्कालीन नायव सुब्बा रविनकुमार राजवंशी, कम्प्युटर अपरेटर आकाश मगर, कार्यालय सहयोगी जीवनकुमार दाहाल, जिल्ला प्रशासन कार्यालय झापाका तत्कालीन प्रशासकीय अधिकृतहरु लक्ष्मीप्रसाद खरेल र केशवप्रसाद रिजाल, राहदानी वाहकहरु विनोद कुँवर, सीमान्त विश्वकर्मा, गोविन्दप्रसाद ढुंगेल र बलराम महतो छन् ।
उनीहरूले सेवाग्राहीसँग घुस लिएर उमेर गडबढ गरी विद्युतीय राहदानी ९ई–पासपोर्ट० जारी गरेको आरोपसहित अख्तियारले मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।


