काठमाडौं । सरकारले सुमनराज अर्याललाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बुधबारदेखि लागु हुनेगरी अर्याललाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।
हालका मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हदका कारण मंगलबार रातिबाट अनिवार्य अवकास हुने भएका छन्। एकनारायणले करिव १५ महिना मुख्यसचिवको रुपमा काम गरे।
२०५३ साल वैशाख १९ गते तथ्यांक अधिकृतबाट सेवा प्रवेश गरेका अर्याल साढे २९ वर्षपछि निजामती सेवाको सर्वोच्च पदमा पुग्न सफल भएका हुन्। २०६६ साल वैसाखमा उपसचिवमा बढुवा भएका अर्याल २०६८ माघमा सहसचिव भएका थिए।
२०७७ माघ १९ गते सचिवमा बढुवा भएका अर्याल पाँच वर्ष पूरा हुनु दुई महिना पहिले निजामतीको सर्वोच्च पदमा पुग्न सफल भएका हुन्। माघ १९ गतेसम्म पनि मुख्य सचिव नबनेको भए सचिवको पाँच वर्षे पदावधिका कारण अनिवार्य अवकासमा जाने थिए।
निजामतीमा प्रवेश गरेपछि तथ्यांक विभागमा काम गरेका अर्यालले महालेखा नियन्त्रक हुँदै विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेको अनुभव छ।
कोसी प्रदेशको प्रमुख सचिव, सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रालयको सचिव, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सचिव, युवा तथा खेलकुद मन्त्रालयको सचिव, प्रधानमन्त्री कार्यालयको सचिव, राष्ट्रिय योजना आयोगको सचिव हुँदै रक्षा मन्त्रालयको सचिवको जिम्मेवारी अर्यालले सम्हालेका छन्। अर्याल २०८३ असार २६ गतेसम्म सेवामा रहनेछन्।


