काठमाडौं । पशुपति क्षेत्र विकास कोषका नवनियुक्त सदस्य सचिव प्रकाशमणि शर्मा भुसालले आफूलाई प्राप्त हुने तलब भत्ता भगवान् पशुपतिनाथकै कोषमा अर्पण गर्ने घोषणा गरेका छन् ।
गत सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाबाट कोषको सदस्य सचिव नियुक्त भएपछि बुधबार नेपाल वेद विद्याश्रमका वटुकबाट वैदिक मन्त्रोच्चारणसहित पद बहाली गर्दै उनले पारिश्रमिक पशुपतिनाथलाई नै अर्पण गरी स्वयंसेवा गर्ने बताएका हुन् ।
“म यहाँबाट कुनै पारिश्रमिक लिन्नँ, मैले पाउने सेवा सुविधासहित सबै पारिश्रमिक श्रीको संरक्षणमा अर्पण गर्छु । पारिश्रमिकबाट जम्मा हुने रकमले यहाँका बिग्रिएका सम्पदाको संरक्षण र संवर्द्धनमा उपयोग गरिने छ”, सदस्य सचिव भुसालले भने ।


