काठमाडौं । टेण्डरको फेक सूचना देखाएर भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पालिका अध्यक्ष,शाखा अधिकृत,लेखापाल र विज्ञापन एजेन्सीका सञ्चालकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।
अख्तियारले टेण्डरको फेक सूचना देखाएर झण्डै साढे चार लाख भुक्तानी दिइएको भन्दै पालिकाका अध्यक्ष,शाखा अधिकृत र विज्ञापन एजेन्सीका सञ्चालकलाई प्रतिवादी बनाएर विशेषमा मुद्धा लगेको हो ।
आयोगका अनुसार आर्थिक वर्ष २०७९र०८० मा छिपहरमाई गाउँपालिकाले विभिन्न निर्माण कार्यका लागि ठेक्का आह्वान गर्दा राष्ट्रियस्तरको सौर्य दैनिक पत्रिकामा सूचना प्रकाशित गरिएको देखाएर भुक्तानी गरिएको थियो । तर अनुसन्धानका क्रममा ती मितिमा पत्रिकामा कुनै सूचना प्रकाशित नै नभएको पुष्टि भएको हो ।
बोलपत्र आह्वानसम्बन्धी झुट्टा सूचना प्रकाशित गरी सरकारी रकम दुरुपयोग गरेको ठहर गर्दै सो गाउँपालिकाका अध्यक्ष मनोज कुमार, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्रप्रसाद साह, तत्कालीन लेखापाल संजय पटेल र विज्ञापन एजेन्सी केएस मल्टिपर्पोज प्रालि वीरगंजका सञ्चालक कमलकुमार उपाध्यायको मिलेमतोमा योजनाबद्ध रूपमा झुट्टा सूचना प्रकाशित गरिएको देखिएकोले भ्रष्टाचार निवारण ऐनअनुसार सबै प्रतिवादीलाई कानुनबमोजिम कडा सजाय हुन मागदाबी गरिएको छ ।


