काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने दावी गरेका छन् ।
झापा क्षेत्र नं. ५ केन्द्रित ४२ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गर्ने क्रममा दमकमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै उनले सार्वजनिक तथा निजी सम्पत्तिमाथि आक्रमण गर्नेलाई ‘देशका दुश्मन’ र ‘विकासका विरोधी’ भने।
ओलीले दमकमा एमाले सरकारको पालामा निर्माण गरिएको बिजनेस कम्प्लेक्समा आगजनीको प्रयास भएको उल्लेख गर्दै त्यसको अर्थ र महत्व नबुझी गरिएको कार्य भएको बताए। ’जसले सार्वजनिक र निजी सम्पत्ति जलाए, ती देशका दुश्मन हुन्। विकासका विरोधी हुन्,’ उनले भने।
उनले जेन–जी आन्दोलनका नाममा घर जलाउने, सिंहदरबार र संसद् भवनमा आगजनी गर्ने कार्यलाई अपराध र आतंकको संज्ञा दिए।


